तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन विभिन्न विषयगत छलफल तथा अध्येताहरूको प्रस्तुतीकरणसहित आज काठमाडौँमा  सम्पन्न भएको छ।

कार्यक्रम समापन समारोहमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्सँग केन्द्रित यस्ता सम्मेलन र छलफलले नव-प्रवर्तनकारी समाधान निकाल्न सहयोग पुग्ने बताउनुभयो । डा. उप्रेतीले आगामी वर्षको सम्मेलनमा क्षति तथा नोक्सानी न्यूनीकरणको तथ्यांकहरुसहित छलफल गर्न पाइने आशा समेत व्यक्त गर्नुभयो।    

डा. उप्रेतीले सन्देशलाई प्रभावमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै प्राधिकरणले ‘को–क्रियसन’ र ‘को–डिजाइन’ मा जोड दिएको पनि उल्लेख गर्नुभयो। ‘उत्थानशीलताको सुरुवात घर’बाटै भन्ने नाराका साथ हिजोबाट सुरु भएको सम्मेलनको दोस्रो दिन आज आठ वटा समूह छलफल, कथा वाचन तथा छोटा प्रस्तुति भए । 

आजको सत्रमा भोटेकोशी बाढीपश्चात् व्यवसायको पुनर्स्थापना र पुनर्निर्माण, विपद् जोखिम व्यवस्थापनमा डाटा, प्रविधि र नवप्रवर्तनसम्बन्धी छलफल भएको थियो । त्यसैगरी, समावेशी उत्थानशीलताः ‘जेड्सी’, मनोसामाजिक कल्याण र कोही पनि नछुट्ने सुनिश्चितता र जलवायु उत्थानशील गाउँ: नीति, अभ्यास र प्रमाणमा आधारित सिकाइको आदानप्रदान शीर्षकमा विज्ञ तथा अध्येताहरूबिच छलफल भएको थियो भने नवौं र दसौँ सत्रमा विज्ञ एवं विपद् अभ्यासकर्ताहरूले विपद् जोखिम न्यूनीकरणका असल अभ्याससम्बन्धी कथा वाचन तथा छोटो प्रस्तुतिहरू राखिएको थियो । 

यस्तै  एघारौँ सत्रमा जोखिमसँगै सुरक्षित जीवनयापन: संरचनात्मक तथा गैर संरचनात्मक उपायहरूको एकीकरण, बहुप्रकोपीय जोखिम आकलन र सबैका लागि पूर्वसूचना शीर्षकमा विज्ञहरुले प्रस्तुतीकरण पछि समूह छलफल र बाह्रौँ सत्र तथा अन्तिम सत्रमा उदीयमान जोखिमहरूका बारेमा उच्चस्तरीय छलफल भएको हो। 

यस सत्रमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, नेपाल मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र उप कार्यकारी निर्देशक डा.राजन भट्टराई र खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. गणेश त्रिपाठी लगायत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button