तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता : ब्रोदर्स एफसी र अप्सरा एफसी विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा बुधबार सम्पन्न खेलमा ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी भएका छन् । न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा ब्रोदर्स एफसीले चन्द्र ज्योति स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

ब्रोदर्स एफसीका जर्सी नम्बर १७ का विपिन सिजालीले दुई गोल गरे भने जर्सी नम्बर ७ का समीर विकले एक गोल थपे । तीनै गोलको मद्दतमा ब्रोदर्स एफसीले सहज जित निकालेको हो । त्यस्तै, बुधबार सम्पन्न दोस्रो खेलमा एफसी अप्सरा कोहलपुरले एफसी सिमल घारीलाई टाई ब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको थियो । एफसी सिमल घारीका जर्सी नम्बर ९ का गोपाल रावल र जर्सी नम्बर ४ का अरुण नेपालीले गोल गरेका थिए । एफसी अप्सराका तर्फबाट जर्सी नम्बर ७ का दिवस खड्काले गोल गरेका थिए भने अर्को गोल सिमल घारीका खेलाडीबाट भएको आत्मघाती गोलका रूपमा आएको थियो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाई ब्रेकरमा अप्सराले बाजी मारेको क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले बताए । प्रतियोगिताको पुरस्कार राशि क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले सौजन्य गरेका हुन् ।

दशैं तथा तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए । असोज २५ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button