मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम नामावलीबाट हटाइयो
मकवानपुर । मकवानपुरका ३ हजार ४७२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका ३ हजार ४७२ जना मतदाताको नाम नामावलीबाट हटाएको हो ।
प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाएको हो ।
आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएका १ हजार ५०२ जना, सम्बन्धित वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ता अभिलेखका आधारमा १ हजार ९६४ जना र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नागरिकता परित्याग गरेका ६ जना मतदाताको नाम कट्टा गरिएको उहाँले बताउनुभयो ।
दोहोरो नामावली हटाउने कार्य भदौ १५ गतेसम्मको तथ्याङ्कका आधारमा गरिएको ढकालले बताउनुभयो । हटाइएका मतदाताहरूको नाम, ठेगाना तथा मतदाता परिचयपत्र नम्बरसहितको विस्तृत नामावली सार्वजनिक गरिएको र उक्त विषयमा कुनै दाबी–विरोध भएमा आवश्यक प्रमाणसहित कार्यालय समय भित्र प्रदेश निर्वाचन कार्यालयमा सम्पर्क गर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडामा चैतदेखि नियमित रूपमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भइरहेको छ ।
निर्वाचनको मिति घोषणा नभएसम्म नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य जारी रहने कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्