वी.पी कोइराला विज्ञान प्रतिष्ठान धरानमा स्वचालित ल्याब रिपोर्ट
सुनसरी । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले प्रयोगशाला परीक्षणको रिपोर्ट सङ्कलनका लागि आउने हजारौँ बिरामीहरूलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन’ सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको २०८३ असोज २६ गते सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।
यसका लागि सेवाग्राहीले ल्याब परीक्षण गराउँदा प्राप्त भएको बिलको बारकोडलाई मेसिनको बायाँपट्टि बत्ती बलिरहेको सेन्सर भागमा देखाउनुपर्ने हुन्छ । बारकोड स्क्यान हुनासाथ मेसिनको प्रणालीले सोझै डाटा पहिचान गरी केही सेकेन्डभित्रै ल्याब रिपोर्ट प्रिन्ट गरेर बाहिर निकाल्ने गर्दछ ।
अस्पताललाई क्रमशः पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत यो मेसिन जडान गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्