तपाईँ सुन्दै हुनुहुन्छः

बूढीगण्डकी बाढी: कुन-कुन क्षेत्रमा पुग्यो क्षति? (विस्तृत विवरण)

गोरखा। गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण उत्तरी तथा मध्य गोरखाका विभिन्न गाउँपालिकाहरूमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले सडक सञ्जाल जोड्ने पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र स्थानीय बस्तीहरू बगाउँदा समग्र जनजीवन प्रभावित बनेको छ।

बाढीका कारण गोरखा र धादिङबीचको मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएपछि गोरखा–धादिङ मुख्य राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुलसमेत बाढीले पूर्ण रूपमा बगाएको छ।

जलविद्युत् आयोजना र आसपासका घरहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन ‘सहज ऊर्जा’ जलविद्युत् आयोजनाको पावर हाउस र त्यस आसपासका ७ देखि ८ वटा घरहरू बाढीको चपेटमा पर्दै बगेका छन्।

यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ भने माछिखोलाको तल्लो बस्तीका ५ देखि ७ वटा घर र सोही सङ्ख्याका टहराहरूमा क्षति पुगेको छ। चुमनुव्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। चुमनुव्रीकै सल्लेरी क्षेत्रका २० देखि २२ वटा घरहरू बाढी र नदी कटानको उच्च जोखिममा परेका छन्।

आज बिहान ८ बजे आरुघाट क्षेत्रमा आइपुगेको बाढी बिहान ११ बजेसम्ममा मुग्लिन क्षेत्रमा पुगिसकेको छ। नदीमा बाढीको बहाव अझै तीव्र रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी उच्च सतर्कताका साथ उद्धार तथा अनुगमनमा खटिएका छन्। स्थानीय प्रशासनले बूढीगण्डकी र त्रिशूली नदी किनारका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र उच्च सतर्कता अपनाउन पुनः अपिल गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button