बूढीगण्डकी बाढी अपडेट: गोरखामा ५ गोठाला बेपत्ता, १०० भन्दा बढी चौँरी बगायो
गोरखा। बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण गोरखाको उत्तरी तथा तटीय क्षेत्रमा ठूलो मानवीय, पशुधन र भौतिक क्षति पुगेको छ।
बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र गोठहरू बगाउँदा समग्र जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। चुमनुब्री गाउँपालिका–६ स्थित सेयरखोला क्षेत्रमा बूढीगण्डकीको बाढी पस्दा ५ जना गोठाला बेपत्ता भएका छन् भने स्थानीयका १०० भन्दा बढी चौँरीगाईसमेत बाढीले बगाएको छ। बेपत्ता गोठालाहरूको खोजी कार्य तीव्र पारिएको छ।
बाढीका कारण क्षेत्रका महत्वपूर्ण सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ। आरुघाट गाउँपालिका वडा नं. २ र ३ (मान्वु) जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले पूर्ण रूपमा बगाएको छ। त्यसैगरी, आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलको तीन भाग (स्पान) मध्ये गोरखातर्फको एक भाग बाढीले बगाएपछि गोरखा–धादिङ जोड्ने मुख्य यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बाढीको तीव्र बहावले ढालेको छ।
बाढीले विभिन्न बस्ती तथा निर्माणाधीन पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस वरपरका ७ देखि ८ वटा घरहरू बाढीले बगाएको छ। धार्चे गाउँपालिका–५ माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटा घर र ५ देखि ७ वटा टहराहरू क्षतिग्रस्त बनेका छन् भने चुमनुब्री गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरहरू बाढी र नदी कटानको उच्च जोखिममा परेका छन्।
घटनालगत्तै प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली परिचालन गरी उद्धार कार्य तथा बाढी-पहिरोको अनुगमन भइरहेको छ। नदीमा पानीको बहाव अझै उच्च रहेकाले बूढीगण्डकी तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले विशेष आग्रह गरेको छ।







प्रतिक्रिया राख्नुहोस्