तपाईँ सुन्दै हुनुहुन्छः

बूढीगण्डकी बाढी अपडेट: आरुघाट-त्रिपुरासुन्दरी जोड्ने पुल र जगत सल्लेरी बजार बगायो, चुमनुब्रीबाट ६ जनाको हवाई उद्धार

गाेरखा। बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण गोरखा र धादिङ जोड्ने मुख्य पुल बगेको छ भने तटीय क्षेत्रका बस्तीहरू गम्भीर जोखिममा परेका छन्। गए राति करिब ४ बजे आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पुल बगाएको हो।

बाढी र पहिरोका कारण गोरखाको धार्चे गाउँपालिकास्थित जगत सल्लेरी बजार पूर्ण रूपमा बगाएको छ। यस्तै चुमनुब्री गाउँपालिका–६ स्थित पैयूँ गाउँका ३५ वटा घर बाढीले बगाउँदा ठूलो क्षति पुगेको छ।

जोखिममा परेका नागरिकको खोज तथा उद्धारका लागि स्थल तथा हवाई मार्गबाट नेपाली सेना र सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिकाको सल्लेरी (जगत) इलाकाबाट ६ जनाको सकुशल हवाई उद्धार गरिएको छ। गृहमन्त्री सुधन गुरुङको जन्मगाउँ समेत रहेको यस क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन काठमाडौँबाट सेनाको ‘कम्पोजिट क्विक रियाक्सन टिम’ हेलिकप्टरमार्फत परिचालन गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि उच्च प्राथमिकताका साथ नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकाय परिचालन गरिएको बताउनुभएको छ।

स्थानीय प्रशासनले बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button