भैरहवा भन्सार कार्यालयबाट साढे ६२ प्रतिशत राजश्व संकलन

रुपन्देही । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा साढे ६२ प्रतिशत राजश्व संकलन गरेको छ ।
चालु आव २०७६/०७७ मा एक खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलनको लक्ष्य पाएकोमा असार ६ गतेसम्म ६६ अर्ब ३२ करोड ५८ लाख मात्र राजश्व संकलन भएको भैरहवाका भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
लकडाउन अघिसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्दै आएको भन्सारले कोरोना संक्रमणका कारण आयातमा कमी हुँदा राजश्व संकलन प्रभावित हुन गएको हो । लकडाउन अघि दैनिक चार सय बढीको हाराहारीमा मालवाहक गाडी भित्रिने गरेपनि लकडाउनसंगै मालवाहक गाडीको संख्या एक चौथाईमा झरेको थियो ।
फागुन मसान्तसम्म कुल लक्ष्य ८२ प्रतिशत राजश्व संकलन भएकोमा लकडाउनपछि आयात घट्दा राजश्व संकलन प्रभावित भएको सूचना अधिकृत लम्सालले बताउनुभयो । लकडाउनका कारण इन्धन, अटोमोबाइल्स, कच्च पदार्थ, मेसिनरी लगायत साम्रगीको आयातमा कमी आएको थियो ।
केही हप्तायता आयात बढ्दा राजश्व संकलन राम्रो भइरहे पनि लक्ष्य अनुसारको राजश्व संकलन भने नहुने भएको देखिएको छ । भन्सारले लकडाउन अवधी चैत ११ गतेदेखि जेठ मसान्तसम्म चार अर्ब ६८ करोड २७ लाख रुपैयां मात्र राजश्व संकलन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्