इन्द्र सरोवरमा पानीको सतह बढेपछि हेटौँडा–काठमाडौँ सडकमा सवारी आवागमन बन्द
मकवानपुर । वर्षका कारण कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने सडकमा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सुरक्षा सतर्कता अपनाउँदै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षालाई विश्लेषण गरी विद्युत् प्राधिकरणले साइरन बजाएर सुरक्षाको मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने भन्दै सडक बन्द गरिएको हो । उहाँले सुरक्षा सतर्कता अपनाउँदै भैँसे हुँदै देउराली–सिस्नेरी–काठमाडौँ तर्फ र पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौँडा तर्फ चल्ने सम्पूर्ण सवारीसाधनहरूलाई यात्रामा रोक लगाइएको बताउनुभयो ।
प्रशासनले जारी गरेको सूचना अनुसार आज असोज ११ गते दिउँसो ४ बजेदेखि भोलि असोज १२ गते बिहान ५ः०० बजेसम्म उक्त सडक खण्डमा कुनै पनि किसिमका सवारीसाधन सञ्चालन नगर्न र नगराउन कडा निर्देशन दिइएको छ । अति आवश्यक काम परी काठमाडौँ जाने र हेटौँडा तर्फ आउने यात्रुहरूले तोकिएको समयभित्र वा त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनसम्बन्धी सूचनाअनुसार यात्रा गर्न अनुरोध गरिएको छ । साथै, उक्त मार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न÷गराउन प्रशासनले विशेष आग्रह गरेको छ ।
यसअघि आजै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँ हुँदै हेटौँडा आउने सवारीका लागि छुट्टाछुट्टै समय तोकेको छ । प्रशासनले हेटौँडाबाट काठमाडौँ जाने सवारीका लागि चौकी टोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि १३ गते बिहान १ बजेसम्म र असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने गरि समय निर्धारण गरेको छ ।
त्यस्तै, काठमाडौँ–हेटौँडा आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै आवागमन गर्न दिइने जनाइएको छ । यस्तै इन्धन तथा एलपी ग्याँस बोकेका बाहेक अन्य ११ मिटर लम्बाइ सम्मका सवारी साधनले मात्र सडकमा चल्न पाउने र १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई उक्त सडक मार्गमा पूर्ण रूपमा निषेध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्