तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग नेपालका लागि चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा भएको द्विपक्षीय भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले सो अवसरमा भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालस्थित चीनका राजदूत चाङ माओमिङमार्फत उपराष्ट्रपति हान झेङलाई गहिरो समवेदना प्रकट गर्नुभयो । 

उपराष्ट्रपति यादवले जनवादी गणतन्त्र चीनको ७७औँ स्थापना दिवसमा महामहिम उपराष्ट्रपति झेङलाई हार्दिक बधाई दिँदै उहाँको सुख, सुस्वास्थ्य तथा मित्रवत् चिनियाँ जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।  “भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौँ परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई समेत प्रभावित बनाएको छ । पूर्वाधार पुनर्निर्माण सम्भव भए पनि प्रभावितहरूको विश्वास पुनः स्थापित गर्न दशकौँ लाग्न सक्छ ।” , उहाँले भन्नुभयो ।  

उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको स्मरण गर्दै नेपाल ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

उहाँले आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्‍याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गर्नुभयो । साथै, चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकोमा चीन सरकारप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको आदान–प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बाढी पहिरोले गरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताउनुभयो । “नेपाललाई यस सङ्कटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ ”,  उहाँले भन्नुभयो, “नेपालमा पुन निर्माणमा चीनको ठूलो सहयोग र समर्थन रहने छ । नेपालबाट सहयोग सूची प्राप्त भए बमोजिम सहयोग गर्न चीन तयार छ । यस सङ्कटको घडीबाट नेपाल छिट्टै बाहिर निस्किने छ ।” 

राजदूत माओमिङले बाढी पहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीहरूका लागि १ करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button