‘जलवायु न्यायका लागि सरकारले विश्व समुदायमा दाबी गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने विषय सदनमार्फत आम जनतालाई जानकारी हुनुपर्ने माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद आनन्द ढुङ्गानाले विकसित देशहरूका कारण जलवायु परिवर्तन भएको र त्यसको असर नेपालले भोग्नुपरेकाले जलवायु न्यायका लागि सरकारले विश्व समुदायमा दाबी गर्नुपर्ने बताउनुभयो ।
सरकारले हप्तामा दुई दिन बिदा दिएका कारण शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै सांसद ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशअनुसार सो बिदा तत्काल हटाउन सरकारसँग माग गर्नुभयो ।
नेकपा एमाले सांसद मिना सिंह राखलले बाढी पहिरोजस्ता विपद्का बेलामा व्यापारीहरूले खाना पकाउने ग्याँस लगायत दैनिक उपभोग्य वस्तुमा कालो बजारी र कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारलाई कालो बजारी नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
सांसद रखालले जनताको चुलो बल्न नसकेको विषय राजनीति असहमतिसँग जोड्न नहुने भन्दै बजार अनुगमन गरी तत्काल कारबाही गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपाका सांसद मदनकुमारी शाह गरिमाले रसुवा बाढीको क्षतिबारे विश्व समुदायलाई जानकारी गराउँदै जलवायु न्याय, हानी तथा क्षतिपूर्तिका लागि राष्ट्रसङ्घको महासभाका आवाज उठाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरु विष्णुदेवी पुडासैनी, राजेन्द्रलक्ष्मी गैरे र सोमनाथ पोर्तेलले विनासकारी भोटेकोशी बाढीपछि राजनीतिक दलहरू सम्मिलित विपद् सामना गर्ने साझा संयन्त्र गठन गर्न सरकारले ढिला सुस्ती गरेको, सरकारको उदासीनताका कारण विदेशी लगानी कम भएको, युवाहरूले रोजगारी नपाएको भन्दै सरकारले पाएको जनमतको सम्मानका लागि पनि सरकारले रोजगारीमूलक उद्योगको स्थापना गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
यस अघि बैठकको शून्य समयमा सांसदहरुले महँगी वृद्धि नियन्त्रण प्रेस स्वतन्त्रताको रक्षा, कूटनीतिक मर्यादा लगायतबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्