मनास्लुमा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु

गोरखा। मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर दुई जना आरोहीको ज्यान गएको छ । मृत्यु हुनेमा भारतीय–जर्मन नागरिक ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् ।
मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला राति अचानक हिमपहिरो खसेपछि उनीहरू हिउँमा पुरिएका थिए । शनिबार आरोहणका क्रममा तेस्रो शिविर पुगेका उनीहरू राति टेन्टमै बसेका बेला हिमपहिरो गएको स्थानीयले बताएका छन् ।
घटनाका बेला मनास्लु क्षेत्रमा मौसम एक्कासि प्रतिकूल बनेको थियो । वर्षासँगै हिमपात र हिमपहिरोको जोखिम बढेपछि अधिकांश आरोही तेस्रो शिविरबाट सुरक्षित स्थानतर्फ झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै रोकिएका थिए ।
हिमपहिरोले उनीहरू बसेको टेन्ट नै पुरेपछि दुवै जनाको मृत्यु भएको बताइएको छ । मकालु एडभेन्चरमार्फत मनास्लु आरोहणमा गएका उनीहरूको शव प्रतिकूल मौसमका कारण कठिन बनेको उद्धार प्रक्रियापछि सोमबार काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
मनास्लुमा यसअघि पनि आरोहणका क्रममा दुई जनाको मृत्यु भइसकेको थियो । केही दिनअघि सिँगापुरका ५० वर्षीय आरोही ल उई सेङ र २० वर्षीय आरोहण सहयोगी तासी शेर्पाले ज्यान गुमाएका थिए । सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो भने तासी शेर्पा टेन्टभित्र मृत अवस्थामा भेटिएका थिए ।
पछिल्ला दुई घटनासँगै यस सिजन मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ । यस वर्ष मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन् ।
आरोहीको चाप बढिरहेको समयमा मनास्लु क्षेत्रमा लगातार मौसममा आएको परिवर्तन, हिमपहिरो र उच्च हिमाली जोखिमले आरोहण तथा उद्धार दुवै कार्यलाई चुनौतीपूर्ण बनाएको छ । विश्वका अग्ला हिमालमध्ये एक मनास्लुमा हरेक वर्ष स्वदेशी तथा विदेशी आरोही पुग्ने गरे पनि मौसमको अनिश्चितता र हिमपहिरोको जोखिमका कारण यहाँको आरोहणलाई चुनौतीपूर्ण मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्