कांग्रेस १५औँ महाधिवेशन : ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो ।
समितिका सदस्य–सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म हुन लागेको १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण ढङ्गले भएको जानकारी दिनुभयो ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हाल वडा अधिवेशन भएको छैन । निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक) र सुनसरीलगायतका जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ । सप्तरीका क्षेत्र नं २ र ४, सर्लाही क्षेत्र नं २, रौतहट क्षेत्र नं १ तथा परासी क्षेत्र नं २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रियाअघि बढेको सदस्य सचिव कटुवालले बताउनुभयो ।
निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं २, परासी क्षेत्र नं २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका सम्पूर्ण वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्