नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न
काठमाडौँ । नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज् (नास–आइटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘स्वीट्जरल्यान्डको ज्युरिचमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबिच नेपाली आइटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपालको बढ्दो आइसिटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आइटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो ।
नास– आइटीका अध्यक्ष दिपेन चापागाईँले नेपाली आइटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आइटी कम्पनी तथा स्विस व्यवसायीबीच सहकार्यका सम्भावनाबारे जानकारी दिइएको थियो ।
रोड शोमा नेपालका १७ वटा आइटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे छलफल भएको थियो ।
नास–आइटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्