तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी बाढी: माथिल्लो त्रिशूली-१ को टनेलभित्र ६ जनाको शव फेला, खोजी जारी

रसुवा । भाद्र १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा संयुक्त उद्धार टोलीले ६ वटा शव बाहिर निकालेको छ।

नेपाली सेना तथा आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएका अवस्थामा ती शवहरू फेला पारेको हो।

अत्यन्त कठिन परिस्थितिमाझ उद्धार टोलीले ग्राइन्डर (Grinder), ग्यास कटर र रोटरी रेस्क्यु उपकरणहरूको प्रयोग गरी जाली काटेर ती ६ वटा शवहरू बाहिर निकालेको नेपाली सेनाले जनाएको छ।  

टनेलभित्र व्यापक हिलो भरिएको र हिलोमा अन्य शव जस्तै देखिने आकृतिहरू समेत भेटिएकाले सो इलाकामा उद्धार कार्यलाई अझ तीव्र बनाइएको छ। बाढीका कारण बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button