संविधानले न्याय, समानता र जनताको सर्वोच्चता स्थापित गरेको छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान न्याय, समानता र जनताको सर्वोच्चता स्थापित गरेको दस्ताबेज भएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा आयोजित सरसफाइ कार्यक्रममा मुख्यमन्त्री भट्टले वर्तमान संविधानले नेपाली जनताको सर्वोच्चतालाई स्थापित गरी समावेशीता र समानुपातिक प्रणाली लागू गरेको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले प्रदेशमा बजेट शून्यताको अन्त्यका लागि नीति, विधि, प्रक्रिया, पद्धतिमा आधारित बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो । नेपाली जनताको लामो सङ्घर्ष, बलिदानको प्रतिफल नेपालको संविधान सबै वर्ग, जाति, क्षेत्र, समुदायको साझा दस्ताबेज भएको उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भएकाले अब जनताको समग्र अवस्था परिवर्तन गर्ने बाटोमा सरकार लागि परेको बताउनुभयो।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट र राज्यमन्त्री जानकीदेवी कुँवरले सरसफाइ वातावरणीय स्वच्छता र मानव स्वास्थ्यका लागी महत्वपूर्ण रहेकाले सरसफाइ अभियानलाई सहरदेखि ग्रामीण क्षेत्रसम्म सञ्चालन गरिनु पर्नेमा जोड दिनुभयो।
संविधान दिवसको पूर्व सन्ध्यामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय लगायतका सरकारी अड्डाका सरसफाई गरिएको थियो ।
प्रदेश सरकारले असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्