निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार
महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।
यहाँको बेदकोट नगरपालिका-२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतीपछि काम अघि बढ्दै छ ।
औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत अल्झनले ढिलाइ हुँदै आएको थियो । हालै मन्त्रिपरिषद् बैठकले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय हो । दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका मन्त्रिपरिषद्बाट वन क्षेत्र प्रयोग गर्न स्वीकृति मिलेसँगै औद्योगिक क्षेत्र स्थापनाले गति पाउने जानकारी दिनुभयो ।
“गत वर्षको साउनमा फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय पुगेको थियो”, उहाँले भन्नुभयो, “अब रुख कटान र भोगाधिकारको समस्या रहेन ।” उहाँका अनुसार १३६ दशमलव ५९ हेक्टर (२०२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको छ । यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।
विसं २०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको थियो । विसं २०७९ फागुनमा बेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्रको कार्यालयसमेत स्थापना भएको छ । तर कर्मचारीविहीन अवस्थामा छ ।
यो वर्ष छेला औद्योगिक क्षेत्र बाहिरको पहुँच मार्गका लागि भन्दै रु दुई करोड ५० लाख विनियोजन भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले गत वर्ष साउनमा रायसहितको उक्त फाइल वन मन्त्रालयमा पेस गरेको भए पनि प्रक्रियागत अल्झनले औद्योगिक क्षेत्र स्थापनामा झन ढिलाइ भइरहेको थियो ।
यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले निजी क्षेत्रले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको मागसहित दबाब दिँदै आएको बताउनुभयो । “सबै प्रक्रिया पूरा भएर अब स्थलगत काम गर्ने वातावरण बन्नु सुखद विषय हो । अब निर्माणलाई तीव्रता दिनुपर्छ”, उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्र स्थापना भए यहाँ रोजगारीका साथै आर्थिक गतिविधि बढ्ने छ ।”
त्यसैगरी बेदकोट नगरपालिका-२ का वडाध्यक्ष नरेशबहादुर सिंहले वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्को निर्णय भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्माणका लागि थप कार्य अघि बढाएको बताउनुभयो । “यसले समग्र सुदूरपश्चिमका नागरिकलाई रोजगारी सृजना गर्ने र उद्योगी व्यवसायीलाई उद्योग स्थापना र सञ्चालनमा सहज वातावरण बनाउनेछ”, उहाँले भन्नुभयो, “यहाँ लामो समयदेखि स्थानीय नागरिक रोजगारीको आशामा बसेका थिए । अब पूरा हुने देखिन्छ ।”रासस








प्रतिक्रिया राख्नुहोस्