अख्तियारमा सबै भन्दा बढी उजुरी मधेश प्रदेशबाट
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रदेश सरकारसँग सम्बन्धित भ्रष्टाचारका उजुरीमध्ये सबैभन्दा बढी उजुरी मधेश प्रदेश सरकारसँग सम्बन्धित रहेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त आर्थिक वर्षमा सातवटै प्रदेशसँग सम्बन्धित ५ हजार ३०५ वटा उजुरी दर्ता भएकामा मधेश प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १ हजार ४७५ रहेको जानकारी दिनु भएको हो ।
यो कूल उजुरीको २७.८० प्रतिशत रहेको हो । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा कम उजुरी गण्डकी प्रदेशसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । गण्डकी प्रदेशका विभिन्न निकायका विरुद्ध ४०७ वटा अर्थात् कूल उजुरीको ७.६७ प्रतिशत रहेको छ ।
विषयगत रूपमा प्रदेशअनुसार उजुरीको प्रकृति फरक फरक देखिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी बढी मात्रामा परेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
मधेश प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको प्रतिवेदन अनुसार भूमिसहित विभिन्न १० वटा मन्त्रालय तथा क्षेत्रसँग सम्बन्धित उजुरीसमेत उल्लेख्य सङ्ख्यामा परेका छन् ।
उजुरीमा सार्वजनिक स्रोतको दुरुपयोग, विकास निर्माण, सरकारी सेवा प्रवाह तथा विभिन्न प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषय समेटिएको छ । अख्तियारले प्रदेश सरकार तथा मातहतका निकायमा हुने कामकारबाहीसँग सम्बन्धित उजुरीलाई छानबिन तथा अनुसन्धानको प्रक्रियामा लैजाने गरेको छ ।
चालु आर्थिक वर्षमा पनि प्रदेश तथा स्थानीय तहका सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी आयोगको निगरानीमा रहने जनाएको छ । बढ्दो चेतना तथा अनियमितताका कारणले मधेसबाट बढी उजुरी पर्ने गरेको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्