तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा बुधवारको तुलनामा आज रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।

कोषमा आज साँझसम्म विभिन्न नौवटा बैङ्कमा मौज्दात रकम रु १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।

कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ ।

कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।

सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।  जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button