भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
काठमाडौँ । भोटेकोशी बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका मध्ये अझै ६०६ विदेशी पर्यटक बेपत्ता भएका जानकारी दिनुभयो । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् ।
विभागले दिएको जानकारीअनुसार भारतका १८९, अष्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३, चीनका ३७ जना छन् ।
त्यस्तै, बेलारुस, फिनल्याण्ड, फ्रान्स, जर्मनी हङ्गेरी, आइरिस, इजरायल, लिथ्वानिया, नेदरल्याण्ड, न्युजरल्याण्ड, पोर्चुगल, रसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।
उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारी घिमिरेले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ ।
यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्