जलवायु न्याय र जलवायु क्षतिपूर्ति मुद्दालाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने सांसदहरूको जोड

काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले जलवायु न्याय र जलवायु क्षतिपूर्ति मुद्दालाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले हिमताल विस्फोटका कारण हुन सक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न, पूर्वतयारी तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा विज्ञ नितेश खड्काले हिमाली क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब दुई गुणासम्म बढी दरले तापक्रम वृद्धि भइरहेकोले हिमालको हिउँ पग्लिने क्रम बढ्दै गएको र प्राकृतिक विपद्को जोखिमसमेत बढेको जानकारी दिनुभयो ।
विज्ञ खड्काले जलवायु परिवर्तनका कारण हुने हिमताल विस्फोट तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि प्रभावकारी सीमापार पूर्वसूचना प्रणाली विकास गर्न चीनसँगको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्