प्रतिनिधिसभा बैठक : सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धी अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धि सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पेश गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले समुद्रसँग नेपालको सीमाना नजोडिए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमालको भविष्य जोडिएकाले सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो ।
मन्त्री गौतमले जलवायु परिवर्तन र समुद्रसँग जोडिएको जैविक विविधता विश्वको साझा सरोकारको विषय भएकाले यसका असर कम गर्न समेत विश्वको साझा पहल आवश्यक रहेको बताउनुभयो ।
छलफलमा सांसदहरुले सन्धि कार्यान्वयनका लागि नेपालले वहन गर्नुपर्ने आर्थिक दायित्व र सामुद्रिक आनुवंशिक स्रोतबाट प्राप्त हुने लाभांश बाँडफाँडमा नेपालको हिस्सा कसरी सुनिश्चित हुन्छ भन्ने विषयमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
सांसदहरुले सम्धीको कार्यान्वयनले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक सम्पदाबाट देशको आर्थिक विकासमा योगदान पुग्नुका साथै नेपालजस्ता भूपरिवेष्टित राष्ट्रहरूको समुद्रिमार्गमा पहुँच बढाउनुपर्ने बताउनुभयो ।
यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८३ पेस गर्नुभयो ।
समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालय तहका विद्यार्थीमा देश प्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाई नैतिक तथा अनुशासित जनशक्ति तयार गर्न तालिम दिने कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताउनुभयो ।
यसअघि बैठकमा सांसदहरुले भोटेकोशी बाढीले क्षति पुर्याएका व्यक्तिका घर टहराहरूमा अझै खोज तलास हुन नसकेको भन्दै खोज तथा उद्धारको कामलाई थप तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाढीका कारण विस्थापितहरूले आफ्नै घरको भग्नावशेषमा परिवारका सदस्यहरूको लास रहेको भनिरहँदा समेत खोज, उद्धारका काम सुस्त भएकोप्रति गुनासो गरेको बताउनुभयो ।
सांसदहरुले तत्काल व्यक्तिका नीजि घरहरू, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू, वित्तीय संस्थाका भवन लगायतका संरचनामा खोज तलासका लागि छुट्टै विशेष टिम परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले विभिन्न मित्रराष्ट्र प्राप्त राहत सामग्रीहरु त्रिभुवन विमानस्थलमा अलपत्र अवस्थामा रहेकाले त्यसलाई सम्बन्धित क्षेत्रमा आवश्यकताका आधारमा तत्काल पुर्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, बाढी जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न, गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाको सुरक्षामा विशेष ध्यान दिन, घरबार विहीनहरूका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था र दीर्घकालीन रुपमा सुरक्षित स्थानमा पुनस्थापनको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तुमा बढेको कालोबजारी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न, स्वास्थ्य बिमाको क्षेत्र विस्तार गर्न, बाँदर आतङ्क नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ५ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्