तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोमा परी मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएको, कयौँ परिवार विस्थापित भएको, सडक दुर्घटना बढिरहेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले बाढी पहिरो तथा सडक दुर्घटनामा परेका घाइतेहरूको निःशुल्क उपचार गर्नुपर्ने, बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउनुपर्ने, तत्काल राहत र दीर्घकालीन पुन स्थापनाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सडक दुर्घटना न्युनिकरणका लागि सडक पूर्वाधारको सुधार, सवारी साधनको प्राविधिक जाँच तथा राजमार्ग र स्थानीय सडकहरूको जोखिम पहिचान र मर्मतका लागि तीनै तहका सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

यस्तै सांसदहरुले भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूको परिवारका लागि पनि राहतको व्यवस्था गर्नुपर्ने, बाढी प्रभावित अभिभावकविहीन बालबालिकाको हेरचाह तथा शिक्षाको लागि विशेष प्याकेज बनाउनुपर्ने, बाढीका कारण बगेका र क्षति पुगेका पुलहरूको निर्माण कार्य तीव्र बनाउनुपर्ने, घरवारविहिन नागरिकको पुन स्थापनामा गम्भीर बन्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइसियुमा उपचार गराइरहेका बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएकोप्रति आपत्ति जनाउँदै बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button