भोटेकोशी बाढीपीडितलाई फक्ताङलुङ गाउँपालिकाद्वारा २६ लाख बढी सहयोग
ताप्लेजुङ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपीडितलाई ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट सङ्कलन गरिएको रकम बाढी प्रभावितलाई पठाइएका हो । बाढी प्रभावितका लागि सङ्कलित कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सहयोग गरिएको जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार बाढी पीडितका लागि जनप्रतिनिधिबाट दुई लाख ३४ हजार २५० रुपियाँ र पालिकामा कार्यरत कर्मचारीबाट छ लाख ४८ हजार ५३२ रुपियाँ रहेको छ । त्यस्तै, पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट १७ लाख ३२ हजार ९६० रुपियाँ रकम सङ्कलन भएको छ ।
गएको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपद्को घटनाबाट प्रभावितका लागि सहयोग गरिएको अध्यक्ष लिम्बुले बताउनुभयो ।
गाउँ कार्यपालिकाको सोही निर्णयअनुसार रकम सङ्कलन गरी बाढी प्रभावित परिवारलाई सहयोग गरिएको पालिकाले जनाएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
यसरी नै जिल्लाका आठराई त्रिवेणी, पाथीभरा यावरक लगायतले पनि बाढी प्रभावितका लागि रकम सङ्कलन गरी पठाइएको जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्