भक्तपुरमा रात्रिकालीन साझा यातायात सञ्चालनको तयारी
भक्तपुर। भक्तपुर जिल्लामा पनि रात्रिकालीन साझा यातायात सञ्चालनको लागि पहल सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यसबारे मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
छलफलका क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरिरहेको रात्रिकालीन साझा यातायातलाई साझेदारीमा भक्तपुरसम्म बिस्तार गर्न आग्रह गर्नुभएको छ ।

साझेदारीमा साझा यातायात सञ्चालनका लागि मध्यपुर थिमि र भक्तपुर नगरपालिका दुवै सकारात्मक देखिएका छन् ।
मध्यपुरथिमि नगरपालिका प्रमुख श्रेष्ठले नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन स्थानीय तहबीच सहकार्य गर्दै रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनले आर्थिक गतिविधि बढाउनुका साथै निजी तथा सरकारी क्षेत्रमा रात्रिकालीन ड्युटीमा खटिने कर्मचारी तथा कामदारलाई समेत सहज हुने बताउनुभयो।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरमा विगतमा ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै रात्रिकालीन साझा बस सेवा जनतासँग जोडिएको विषय भएको बताउनुभयो ।
सहमति भए रात्रिकालीन सेवा ठमेल ,रत्नपार्क,कोटेश्वर,जडीबुटी हुँदै भक्तपुर तर्फ अरनिको राजमार्ग अन्तर्गत लोकन्थलीदेखि जगातीसम्म राति ८ बजेदेखि १२ बजेसम्म ६ वटा बस यथाशीघ्र सञ्चालन गर्ने योजना रहेको साझा यातायात सञ्चालक समितिले जनाएको छ ।
दुवै भेटका क्रममा साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेल र कार्यकारी निर्देशक भुपेन्द्र अर्याल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्