संसदीय विशेष समिति गठन गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोशी बाढी पश्चातकाे खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले सरकारले बाढीपछि खोज, उद्धारका लागि तत्काल सार्वजनिक आव्हान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो ।
उहाँले विपत्तिको सामना गरिरहेका आफन्त गुमाएका नागरिकहरूले आफन्तको खोजी गर्न माग गर्दा सरकारलाई असफल बनाउन खोजिएको भन्नु गैरजिम्मेवार विषय भएको टिप्पणी गर्नुभयो ।
उपनेता अर्यालले बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचारको अवस्था, अङ्गभङ्ग भएकाहरूका लागि दीर्घकालीन उपचारको व्यवस्था के हुने, अभिभावक गुमाएका बालबालिकाको आधिकारिक विवरणको अवस्था, उनीहरूको संरक्षण, लालनपालन, व्यवस्थापन र पठनपाठनको तयारी, क्षतिग्रस्त विद्यालयका विद्यार्थीको शैक्षिक अभिलेख नष्ट भएको अवस्थामा वैकल्पिक व्यवस्था के हुँदैछ भन्ने विषयमा संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
उहाँले विपद्ले विभिन्न स्थानमा विद्युत्, सञ्चार, पुल लगायतका सेवा अवरुद्ध भएको अवस्थामा आम नागरिकलाई लाइफ लाइनसँग जोड्ने खालको कार्ययोजना सार्वजनिक गर्न माग गर्दै त्यसमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।
उपनेता अर्यालले विपत्तिका बेला सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै खोज, उद्धार र पुन स्थापनालाई सहज बनाउन संसदीय विशेष समिति गठन गर्न पनि सरकारसँग माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्