ताप्लेजुङ गोल्डकप : पाँचथरको फिदिम सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लब ४–३ गोलअन्तरले पराजित गर्दै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । निर्धारित समयमा दुवै टिमले कुनै गोल हुन नसकेपछि खेल ट्राई बेकरमा धकेलिएको थियो । पाँचथरका लागि निरोज लिङदेन, सुसन जवेगु, हितेन लिम्बु र अनिस परियारले गोल गरेका थिए । चित्लाङका लागि भने मिक्सो लिम्बु,चेतन थारु र किरण सुनुवारले मात्र गोल गर्नु सके ।
आठ टिम सहभागी रहेको प्रतियोगितामा आइतबार क्वाटर फाइनल खेलको अन्तिम खेलमा सातदोबाटो युथ क्लब काठमाडौँ र डिफेन्डिङ च्यापियन सलहेश युथ क्लब सिराहा बिच खेल हुने आयोजकले जनाएको छ ।
ताप्लेजुङको फुङलिङको भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तिन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । लाखे जात्राको अवसरमा २०२९ साल देखि निरन्तर प्रत्येक वर्ष फुङलिङमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्