तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी : ६७५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६७५ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जसमध्ये रसुवामा १३, धादिङमा ४५, नुवाकोटमा ५१, गोरखामा ५७, तनहुँमा ३५, चितवनमा २४६, नवलपरासी पूर्वमा १६५ र नवलपरासी पश्चिममा ६३ जनाको शव फेला परेको हो । 

रसुवा बाढीपछि दुई हजार ४२६ जना अझै सम्पर्कविहीन छन् । जसमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।

यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र  उपचारपछि १४० जना डिस्चार्ज भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button