सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको हो ।
विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताउनुभयो ।
“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ । राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज ५ः३० बजेसम्म सात हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ ।
प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ ।
“हामीलाई प्राप्त सुझाव र गुनासोलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको सङ्ख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन् । तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन । ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकताअनुसार अन्तरराष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ”, उहाँले भन्नुभएको छ ।
साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उहाँको भनाइ छ । “अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडागरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ ।
यस्तै, काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ”, उहाँले भन्नुभयो । साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेको उहाँको भनाइ छ । अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौँ । विभिन्न अस्पतालमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ ।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासीपूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन् । फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।
“यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गर्न लागेको हो । परिवारले पहिचान गरेका शव भने उहाँहरूलाई जिम्मा लगाउने काम भइरहेको छ । त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौँ”, उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा तीन, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ । यी शिविरका लागि सङ्घीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ ।
नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत परिचालित छन् । बाढीबाट विस्थापित करिब तीन हजार ५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ ।
पीडितहरूका तत्काल आवश्यकपर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ ।
यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ ।
सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ । साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याउने गरिएको छ । त्यहाँ सङ्कलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरू सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ ।
आजमात्रै एमआइ–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ । साथै, आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ । विभिन्न सङ्घसंस्था र सहयोगी निकायलेसमेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरूमा राहत सामग्री पठाउनेक्रम जारी छ ।
प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकामा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो । सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावर पुनःसञ्चालनमा ल्याएको छ । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ ।
बाढीले मुख्य सडकमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेकाबेला हाल काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुनेगरी मर्मत गरिएको छ । यो सडकखण्ड खुलेसँगै रसुवा पुनःराष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ । धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पीपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको छ ।







प्रतिक्रिया राख्नुहोस्