तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका सबै जिल्लामा शतप्रतिशत विद्युत् सेवा पुर्‍याउने तयारी : मन्त्री श्रेष्ठ

काठमाडौँ । सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा शतप्रतिशत  विद्युत् सेवा पुर्‍याउने तयारी गरेको जनाएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत् सेवाबाट वञ्चित कर्णालीका एक सय ६४ वडावासीका लागि  विद्युत् विस्तार कार्य भइरहेको जानकारी दिनुभयो । 

कर्णाली प्रदेशमा प्रसारण तथा सव स्टेसन निर्माणमा महत्वपूर्ण प्रगति भएको भन्दै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जाका लागि पनि सरकारले समानान्तर काम गरिरहेको बताउनुभयो । 

सरकारले पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालिकोट जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डोल्पा ३३ र ११ केभी सव स्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । 

बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र संस्कृति पर्यटन कता नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले सांसदहरुले लिखित रुपमा राख्नुभएको प्रश्नको जवाफ टेबल गर्नुभयो । 

त्यसैगरी संस्कृति पर्यटन कता नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

राष्ट्रियसभाको अर्को बैठक भदौ  ५ गते शुक्रबार दिउसो सवा एक बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button