तपाईँ सुन्दै हुनुहुन्छः

शिवको मूर्ति सहित पुजारी र सुरक्षाकर्मीको  टोली छायाँनाथ धामतर्फ प्रस्थान

मुगु । मुगुको प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाममा रहेको शिव भगवानको मूर्ति शुद्ध पार्न पुजारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालासहितको टोलीले आज छायाँनाथ धामतर्फको यात्रा सुरु गरेको छ।

छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरबाट भगवान् शिवको मूर्ति अर्थात् गाथलाई विशेष पूजाआजा गरी बाजागाजा र सुरक्षाकर्मीसहित मुगुम कार्मारोङ गाउँपालिका–१ मा रहेको छायाँनाथ धामतर्फ लगिएको हो।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा छायाँनाथ मन्दिरमा रहेको शिव भगवानको मूर्तिलाई धाममा लगेर पूजाआजा तथा शुद्धीकरण गर्ने धार्मिक परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि पुजारी तथा सुरक्षाकर्मीसहितको टोली धामतर्फ प्रस्थान गरेको हो।

मूर्ति धामतर्फ लैजाँदा स्थानीय श्रद्धालु, पुजारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता रहेको छ। धाममा पुगेपछि धार्मिक विधिअनुसार विशेष पूजाआजा गरिने मन्दिरका पुजारी असिनु कुमार हमालले  बताउनु भयो ।

समुद्री सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइमा रहेको छायाँनाथ धाम हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिकस्थल मानिन्छ। हरेक वर्ष साउन शुक्लपक्षदेखि जनैपूर्णिमासम्म यहाँ धार्मिक मेला लाग्ने र कर्णालीका विभिन्न जिल्लासहित देशका अन्य ठाउँबाट समेत हजारौँ श्रद्धालु आउने गर्दछन्।

गत वर्ष पनि चैन गाउँस्थित मन्दिरबाट शिवजीको प्राचीन मूर्ति पूजाआराधनासहित छायाँनाथ धाम लगेर तीर्थयात्राको औपचारिक सुरुआत गरिएको थियो। भने हरेक बर्ष मूर्ति शुद्ध  पार्न   यस धाममा जाने प्रचलन परापुर्वकाल देखि  नै चलिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button