बाजुरामा रैथाने बाली सङ्कटमा, परम्परागत खेती लोप हुने चिन्ता
बाजुरा। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो, मार्से र फापर जस्ता अन्नबाली पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन्। औषधीय गुण र अर्ग्यानिक खानाका रूपमा देशभरका ठूला सहरहरूमा माग तीव्र रूपमा बढिरहेको भए पनि गाउँस्तरमा उत्पादन भने लगातार घट्दै गएको छ।

कुनै समय बाजुराका प्रायः प्रत्येक गाउँमा प्रशस्त मात्रामा उत्पादन हुने कागुनो, झुमरो र मार्से अहिले फाटफुट बाहेक देखिन छाडेको छ। त्यस्तै, जिल्लाका हिमाली भेगमा लगाइने फापर, चिनो र उवा समेत बिस्तारै हराउँदै गएको स्थानीयको भनाइ छ। उत्पादन घटेसँगै बजारमा अभाव बढ्दा अहिले जिल्लामै यी अन्नबाली पाउन मुस्किल हुन थालेको छ।
बडिमालिका नगरपालिका–५ का कृषक कविराज साउदका अनुसार पहिले गाउँमै ठेकेदारहरू आएर यी अन्नबाली खरिद गर्ने गरेका थिए। “अहिले उत्पादन नै नभएपछि बेच्न त परै जाओस्, आफ्नै लागि समेत पुग्न छाडेको छ,” उहाँले भन्नुभयो।

परम्परागत खेती प्रणालीबाट जीविकोपार्जन गर्न कठिन हुँदै जाँदा धेरै कृषकले यस्ता अन्नबाली लगाउनै छाडेका छन्।
कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनु जस्ता परम्परागत अन्नबालीको बजार माग उच्च रहे पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ। “परम्परागत खेती जोगाउन अनुदानका कार्यक्रम सञ्चालन गरिए पनि कृषकको आकर्षण बढाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो। उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा कृषि ज्ञान केन्द्र बाजुरा रहेको उहाँको भनाइ छ।

विशेषज्ञहरूका अनुसार यी अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण र जलवायु अनुकूल खेतीका रूपमा चिनिन्छन्। तर युवा पुस्ताको खेतीप्रति घट्दो रुचि, वैकल्पिक आम्दानीका साधनको अभाव र सरकारी सहयोग प्रभावकारी नहुनुका कारण उत्पादन घट्दै गएको हो। रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि समयमै ठोस कदम नचाले परम्परागत खेती प्रणाली इतिहास मात्र बन्ने खतरा बढेको छ।








प्रतिक्रिया राख्नुहोस्