नेपालगन्जका अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शय्या व्यवस्था गरेको छ ।
भदौ १ गतेदेखि प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ अनुसार उपमहानगरपालिका अन्तर्गत सञ्चालन भएका अस्पतालहरूमा सेवाका लागि सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बर समेत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताउनुभयो । शय्यासँगै सम्पूर्ण उपचार पनि निःशुल्क हुने बमले जानकारी दिनुभयो ।
नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क शय्याको दैनिक उपलब्धता नागरिकले सहज रुपमा थाहा पाउने व्यवस्था मिलाइएको बमले जानकारी दिनुभयो ।
नगर प्रमुख प्रशान्त विष्टले वास्तविक लक्षित वर्गले मात्र सेवा पाउने सुनिश्चितता गर्न र दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गरिने बताउनुभयो । उहाँले १० प्रतिशत निःशुल्क शय्या सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.नवीन दर्नालले स्थानीय तह (वडा कार्यालय)को आर्थिक रूपले विपन्न भएको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र अथवा आकस्मिक अवस्थामा तुरुन्त कागजात नभएमा स्वघोषणा फाराम भरेर पनि उपचार पाउन सकिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सिफारिसमा हुन सक्ने दुरुपयोगका सम्बन्धमा सजग बन्नुपर्ने बताउनुभयो ।
प्रत्येक अस्पतालमा दैनिक रूपमा निःशुल्क शय्याको अवस्था अद्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण गर्ने तथा सम्बन्धित फोकल पर्सनमार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले अस्पतालहरूमा अनुगमन सुरु गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताउनुभयो ।
सेवा प्राप्त गर्न कठिनाइ भएमा वा अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध नगराएमा सम्बन्धित अस्पतालको फोकल पर्सन तथा उपमहानगरपालिकामा गुनासोका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै थप जानकारी लिनु परे एआईको पैसा नलाग्ने ९७०२६९७७७२ नम्बरमा कल गर्न सक्ने पनि बताइएको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत सञ्चालित निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागितामा निःशुल्क उपचार सेवा तथा लक्षित वर्ग निःशुल्क उपचार पोर्टलसम्बन्धी अभिमुखीकरण तथा समन्वय बैठक समेत भएको थियो । उक्त बैठकपछि कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल स्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन, जिम्मेवार फोकल पर्सन तोक्ने तथा मुख्य प्रवेशद्वार नजिकै निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष स्थापना गर्ने कार्य पनि भइरहेको बस्नेतले जानकारी दिनुभयो ।
नेपालको संविधान, २०७२ को धारा ३५(१) ले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०९घ० ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नगर स्वास्थ्य ऐन, २०७९ को दफा २८ को उपदफा (१)ले समेत उक्त व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्