सबै सेवा सुविधा सामाजिक काममा खर्च गर्ने नगरप्रमुख भामको घोषणा

मुगु । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो कार्यकालमा पाउने पारिश्रमिक, भत्ता तथा अन्य सबै सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ।
सोमबार छायाँनाथ रारा नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख भामले आफूले ५९ महिनामा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधाबापत प्राप्त हुने करिब २८ लाख १४ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको हो।
उहाँले आफूले पाउने सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा नलगाई जिल्लाका चारवटै स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलगायतका क्षेत्रमा सदुपयोग गर्ने बताउनुभएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख भामले जिल्लामा अहिले पर्याप्त मात्रामा एम्बुलेन्स उपलब्ध भइसकेकाले यसअघि घोषणा गरिएको एम्बुलेन्स खरिदको योजना हाललाई प्रभावकारी नदेखिएको स्पष्ट पार्नुभएको छ। एम्बुलेन्स खरिदका लागि छुट्याइएको रकमलाई आवश्यकताअनुसार अन्य सामाजिक क्षेत्रमा परिचालन गर्ने योजना रहेको उहाँले बताउनुभएको छ।
नगरप्रमुख भामले आर्थिक सेवा सुविधा मात्र नभई सामाजिक काममा प्रत्यक्ष श्रमदानसमेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा सुविधालाई व्यक्तिगत लाभभन्दा सामाजिक हितमा लगाउनुपर्छ भन्ने मान्यताका साथ उक्त निर्णय लिइएको उहाँले जानकारी दिनु भयो ।
उहाँको भनाई अनुसार विशेष गरी मुगु जिल्लाका दलित तथा विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री वितरण, कृषकलाई बीउबिजन सहयोग, नागरिकलाई न्यानो कपडा वितरण तथा स्वास्थ्य र पूर्वाधार विकासमा उक्त रकम खर्च गरिनेछ। यसबाट जिल्लाका चारवटै स्थानीय तहका नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
नगरप्रमुख भामका अनुसार उक्त कार्यक्रम २०८४ साल जेठ २० गतेदेखि लागू गरिनेछ।








प्रतिक्रिया राख्नुहोस्