तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को चार वर्षपछि उस्तै पीडा : पुनःस्थापनाको पर्खाइमा मुगुका बाढीपीडित

मुगु । २०७९ साल असोजको तेस्रो साता आएको भीषण बाढीपहिरोबाट घरबार गुमाएका मुगुका सयौँ परिवार चार वर्ष बितिसक्दा पनि पुनःस्थापनाको पर्खाइमा छन्। सरकारले विपद्पछि मुगुलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा धेरै परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि अन्यत्र पलायन हुन बाध्य छन्।

छायाँनाथ रारा नगरपालिका–११, सालीम गाउँका मानबहादुर भग्रीको परिवार यसको एउटा उदाहरण हो। बाढीपहिरोले घर पूर्ण रूपमा पुरिएपछि उहाँकी श्रीमती र एक छोरी रोजगारीको खोजीमा भारत गएका छन्। आठ वर्षीय छोरा एग्याज भग्री र १२ वर्षीय सिंगराज भग्री भने मामा खड्कसिंह कुमाईको संरक्षणमा बसेर अध्ययन गरिरहेका छन्।

स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मी कर्णबहादुर सावतका अनुसार घर र जीविकोपार्जनको आधार गुमेपछि भग्री परिवार भारत जान बाध्य भएको हो। बाबुआमासँग जान नसकेका दुई बालक अहिले मामाघरमै बसेर अध्ययन र दैनिकी अघि बढाइरहेका छन्।

बाढीपहिरोपछि विस्थापित भएका जिल्लाका धेरै परिवार अझै स्थायी बसोबासको अभावमा कष्टकर जीवन बिताइरहेका छन्। कतिपय छिमेकीको घर, गोठ वा अस्थायी टहरामा आश्रित छन् भने कतिपय जीविकोपार्जनका लागि भारतलगायत विभिन्न स्थानमा पलायन भएका छन्।

छायाँनाथ रारा नगरपालिका–६, कोटिला गाउँका गान्टो ऐडीले बाढीले घर बगाएपछि लामो समय पालमुनि बस्नुपरेको बताउनुभयो। वर्षा र हिमपातका कारण त्यसबेला बालबालिका पटक–पटक बिरामी परेको उहाँको भनाइ छ। अहिले पनि आफ्नो परिवार छिमेकीको गोठमा आश्रित रहेको उहाँले बताउनुभयो।

सरकारले अनुदानमार्फत घर निर्माण गरिदिने आश्वासन दिए पनि त्यसको कार्यान्वयन नभएको ऐडीको गुनासो छ। आर्थिक अभावका कारण आफैँ घर निर्माण गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

छायाँनाथ रारा नगरपालिका–१० का कृष्णबहादुर रावलले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले आफूहरूजस्ता बाढीपहिरोपीडितको पुनःस्थापनामा अपेक्षित ध्यान नदिएको गुनासो गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २०७९ साल असोजमा आएको बाढीपहिरोबाट जिल्लामा करिब एक हजार तीन सय घरमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो। छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिका बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका थिए।

प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले सङ्घीय सरकारले मुगुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनःस्थापना तथा राहतका लागि हालसम्म कुनै जानकारी प्राप्त नभएको बताउनुभयो। यस विषयमा आवश्यक बुझाइ गरी जानकारी उपलब्ध गराउने उहाँले बताउनुभयो।

खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले पनि सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि पीडितका लागि आवश्यक राहत तथा पुनःस्थापनाको बजेट उपलब्ध नभएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाका अधिकांश बाढीपीडितले ऋण तथा आफ्नै स्रोतसाधन जुटाएर घर निर्माण गरेका छन्।

विपद् आएको चार वर्ष बितिसक्दा पनि पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्न नसक्दा मुगुका बाढीपीडितहरू अझै सुरक्षित आवास र सामान्य जीवनको प्रतीक्षामा छन्। विपद्ले भत्काएको घरसँगै उनीहरूको जीवनयापनको आधारसमेत प्रभावित भएको अवस्थामा स्थायी पुनःस्थापनाको पर्खाइ अझै लम्बिँदै गएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button