भोटेकोशी बाढी प्रभावित विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई ५ लाख राहत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीमा परी बेपत्ता तथा ज्यान गुमाएका विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका ४७ जना सहित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको सदनमा जानकारी गराउनुभयो ।
मन्त्री श्रेष्ठले विपद् पछि ऊर्जा क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका गरी ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल ४ सय १० मेगावाट विद्युत् बाहिरिएको र सञ्चालनमा रहेका २ सय ७५ मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो ।
यस्तै बाढीबाट प्रसारण लाइन बिग्रिँदा १ सय ३५ मेगावाट उत्पादन ठप्प भएको सदनमा जानकारी गराउनुभयो ।
मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सुचारु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जा प्रणाली र सुधारिएको चुलो वितरण गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्