गोरखामा एलपी ग्याँसको अभाव, उपभोक्ता समस्यामा
गोरखा । गोरखा जिल्लामा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपी ग्याँसको अभाव हुँदा सर्वसाधारण उपभोक्ता तथा होटल व्यवसायी समस्यामा परेका छन् । गोरखा सदरमुकामसहित आसपासका बजार क्षेत्रमा ग्याँस सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा दैनिक जनजीवन प्रभावित बनेको हो ।

गोरखा सदरमुकामका अधिकांश ग्याँस डिपोमा ग्याँस सकिएको भन्दै उपभोक्तालाई रित्तै फर्काइने गरिएको छ । सीमित परिमाणमा ग्याँस आए पनि घण्टौँ लाइन बसेपछि मात्र केही उपभोक्ताले ग्याँस पाउने अवस्था रहेको स्थानीयले बताएका छन् ।
होटल व्यवसायी निधि तिमिल्सिनाले एलपी ग्याँस दैनिक जीवन र व्यवसाय दुवैका लागि अत्यावश्यक भएकाले यसको अभावले होटल सञ्चालनमा समस्या उत्पन्न भएको बताउनुभयो ।
यसबीच उपभोक्ताले ग्याँसको नियमित आपूर्ति सुनिश्चित गर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले भने ग्याँस उद्योग र वितरकसँग समन्वय गरेर जिल्लामा ग्याँस आपूर्ति सहज बनाउन पहल भइरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले छिट्टै आपूर्ति व्यवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्