बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७, ढम्कनेमा जंगली विषालु च्याउ सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्। उहाँकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार सोमबार साँझ दुवैले जंगलबाट ल्याएको जंगली च्याउ खाएपछि अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। बिरामी परेपछि उनीहरूलाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। उपचारकै क्रममा सोमबार राति रामे थापालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गम्भीर बिरामी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार नआएको र अवस्था अझै चिन्ताजनक रहेको छ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनुभयो।
प्रहरीले वर्षायाममा जंगलमा उम्रने अपरिचित तथा विषालु च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पहिचान नभएका च्याउ खानु ज्यानै जाने जोखिम हुन सक्ने भन्दै सतर्क रहन पनि प्रहरीले अनुरोध गरेको छ।








प्रतिक्रिया राख्नुहोस्