प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ गरेको छ ।
समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डा.सुब्बाको छुट्टाछुट्टै सुनुवाइ गरेको हो ।
प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो ।
नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्लेले सरोकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आयोगलाई सक्षम, सुदृढ, निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र भरोसायोग्य संस्थाका रूपमा विकास गर्दै निर्वाचन व्यवस्थापनलाई स्वच्छ, पारदर्शी, विश्वसनीय, मितव्ययी र सर्वस्वीकार्य बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
निर्वाचन आयुक्तमा प्रस्तावित वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सकिने भन्दै यस विषयमा अन्तर्राष्ट्रिय अभ्यास, कानुनी व्यवस्था, प्राविधिक क्षमता र आर्थिक पक्षको अध्ययन गर्दै उपयुक्त मतदान प्रणाली विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले जन्म, मृत्यु, विवाह र बसाइसराइ दर्ताको विवरण निर्वाचन आयोगको मतदाता नामावलीसँग अन्तर आबद्ध नहुँदा मतदाता सूची वास्तविकभन्दा ठूलो भएको बताउँदै स्थानीय पञ्जिकाधिकारी, राष्ट्रिय परिचयपत्र प्रणाली र मतदाता नामावलीबिच डिजिटल अन्तरआबद्धता गरिएमा मतदाता सूची थप स्वच्छ, अद्यावधिक र त्रुटिरहित बन्ने बताउनुभयो ।
यसैगरी प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले संविधान र कानुनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडी बढ्ने बताउनुभयो ।
संसदीय सुनुवाइ समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णतः डिजिटल र प्रविधिमैत्री बनाउन सकिने बताउनुभयो ।
डा.सुब्बाले कागजी मतदान खर्चिलो र झन्झटिलो हुँदै गएको भन्दै विद्युतीय मतदान मेसिनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने र यसबाट कम खर्च र मत गणना छिटो हुने दाबी गर्नुभयो ।
निर्वाचन प्रविधिमैत्री बनाउने, विदेशमा रहेका नेपालीलाई मताधिकार दिने र मतदातालाई मत दिन्न भन्ने अधिकार सुनिश्चित गर्न कानुनी र प्राविधिक व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
प्रस्तावित निर्वाचन आयुक्त डा.सुब्बाले वर्तमान समयमा सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, घृणास्पद अभिव्यक्ति र आर्टिफिसियल इन्टेलिजेन्सबाट सिर्जित डीपफेक भिडियोहरू निर्वाचनका लागि चुनौती रहेको उल्लेख गर्दै यसलाई रोक्न निर्वाचन साइबर सुरक्षा र डिजिटल इन्टेग्रिटी सेन्टर स्थापना लगायतका काम गर्र्न सकिने बताउनुभयो ।
समितिले भोली प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ गर्ने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र निर्वाचन आयुक्तमा डा.सुब्बा र वाग्लेलाई नियुक्त गर्न सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्