राष्ट्रियसभा बैठक: प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप, बाढी-पहिरो र स्वास्थ्य बीमाका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले राज्यशक्तिको आडमा केही सञ्चार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानविन गरी कडा कारबाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएको भए पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूले तिर्नुपर्ने सेवा शुल्क बढाउन खोजेको भन्दै सांसद पन्तले आतङ्क सिर्जना गर्नुभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले सञ्चार माध्यम अगाडि शङ्कास्पद रुपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो ।
त्यसैगरी नेकपा एमालेकी सांसद रोशनी मेचेले रास्वपाले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काएर रोजगारी उपलब्ध उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्दा गरिबीको रेखामुखी रहेका नागरिकहरूमा उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सांसद मेचेले बन्द गरेको स्वास्थ्य बिमा कार्यक्रम तत्काल सुरु गरी सर्वसाधारणलाई उपचारमा पहुँच पुर्याउन सरकारलाई आग्रह गर्नुभयो
त्यस्तै जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दिएको आश्वासन पूरा नभएको, चरम निराशा पैदा भएर युवाहरूले आत्महत्या रोज्न बाध्य हुनुपरेको बताउनुभयो ।
यसअघि बैठकको शून्य समयमा सांसदहरुले किसानहरूलाई तत्काल रासायनिक मल उपलब्ध गराउनुपर्ने, मिटर व्याज पीडितको माग सम्बोधन गर्नुपर्ने, राज्य शक्तिको आडमा केही सञ्चार गृहको गेटमा गाडी राख्नेमाथि छानविन गरी कडा कारबाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारी छ ।






प्रतिक्रिया राख्नुहोस्