तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ ।  यस काममा बजेटको अभाव हुँदैन ।” भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको सदनलाई अवगत गराउनुभयो । 

उहाँका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन  परेको छ । यसका लागि रु ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । 

सुशासन र पारदर्शितालाई महत्व दिँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै ‘डिजिटल’ रूपान्तरणसँग जोडेर काम गरिरहेको जानकारी गराउँदै उहाँले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताउनुभयो ।  

मन्त्री रावलले टे«ड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भए पछि प्रशासनिक सङ्घीयता प्रभावकारी हुने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button