अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई वटा प्रस्तावमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि छलफल भएको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि छलफल भएको हो ।
छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रममन्त्री प्रदीप यादवले ट्रेड युनियनलाई खारेजी नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो ।
मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न सङ्घीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मुलन गर्नेतर्फ काम गरिरहेको बताउनुभयो ।
उहाँले श्रम निरीक्षण सम्बन्धी महासन्धि कार्यान्वयनमा लैजानका निम्ति डिजिटल निरीक्षण प्रणालीदेखि अनौपचारिक अर्थतन्त्रलाई कसरी औपचारिक गर्ने तर्फ पनि केन्द्रित हुने बताउनुभयो ।
उहाँले देशभर ११ वटा श्रम कार्यालय रहेको जानकारी गराउँदै श्रम निरीक्षणमा कमीकमजोरी नरहेको तथा अहिलेको श्रम ऐनले दिएको अधिकार अनुसार निरीक्षण अनुगमन भइरहेको बताउनुभयो ।
मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय जान नपर्ने र घरमा नै बसेर काम गर्नसक्ने गरी काम गर्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो ।
छलफलमा सांसदहरुले श्रम कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धताबीच पूर्ण सामन्जस्यता कायम गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले श्रमिकलाई देशको अमुल्य पुजी निर्माताका रुपमा लिनुपर्ने, श्रमको सम्मान नीति, बजेट र व्यवहार मार्फत नै गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले श्रमिकहरूको श्रमको सम्मान गर्ने, उनीहरूको अधिकारको रक्षा, श्रमको सम्मान र मूल्य पाउनेगरी ऐन र नियम बनाउने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
बाध्यकारी श्रम अन्त्य गर्ने तर्फ जाँदै गर्दा पछिल्लो समय उत्पन्न परिस्थितिले बाध्यकारी श्रमतर्फ लैजाँदै गरेको स्थिति देखिएको भन्दै सुकुम्बासी लगायतमा बाध्यकारी श्रममा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
सांसदहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेरमात्रै नहुने भन्दै श्रमिकले सहज रुपमा काम गर्न पाउने वातावरण बनाउनुपर्ने, बन्द उद्योगधन्दा खोलेर रोजगारीको अवसर दिने, दक्ष जनशक्ति उत्पादनमा काम गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले श्रम निरीक्षणको क्षमता र स्रोत साधन वृद्धि गर्नुुपर्नेमा जोडसमेत दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्