तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठक : विभागीय मन्त्रीहरुद्वारा जवाफ दिने क्रम जारी 

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो सरकारले स्वास्थ्य सेवा सुधारका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ को स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका विनियोजित शीर्षकहरूमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखी दुर्गम तथा विकट क्षेत्रमा समेत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । 

त्यस्तै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै कला, साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेको भन्दै सरकारले सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो ।

मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने एअर रुटका लागि विभिन्न देशहरूसँग कूटनीतिक प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो । 

बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री प्रतिभा रावलले खेतीयोग्य भूमिको व्यवस्थापनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । 

वर्तमान सरकारले सहकारी क्षेत्रप्रति नागरिकको विश्वास पुन जित्न सफल भएको भन्दै सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनुभयो । 

सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न लागेको जानकारी गराउँदै मन्त्री रावलले विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधानको अन्त्य र कर्मचारी प्रशासनको पुनर्संरचना हुने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन, अनुसन्धान, वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाउदै गरेको जानकारी बैठकलाई दिनुभयो । 

नेपाल अध्ययन र अनुसन्धानका लागि निकै उर्वर भूमि रहेको भन्दै मन्त्री पुनले देशको अर्थतन्त्रमा टेवा पुर्‍याइ युवाहरूलाई आकर्षित गर्ने कार्यक्रमहरूका लागि मन्त्रालयले प्रस्ताव आह्वान गर्न लागेको जानकारी दिनुभयो । 

आजको राष्ट्रियसभाको बैठकमा  विनियोजन विधेयकमाथि उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button