जगदुल्लाका बाढीपहिरो पीडितलाई नगद र राहत सामग्री वितरण, घाइतेको हेलिकप्टरबाट उद्धार
डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिकास्थित गैरीगाउँका बाढीपहिरो पीडितहरूका लागि नगद रकमसहित करिब ३ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जुनु हमाल ढकालको नेतृत्वमा रहेको जिल्ला विपद् कमान्ड पोस्टको टोलीले आइतबार घटनास्थलमै पुगेर राहत वितरण तथा क्षतिको अनुगमन गरेको हो।
गैरीगाउँ बाढीपीडितका लागि आइतबार जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकायालाई ३ लाख बराबरको राहत सामाग्री सहित नगद रु ४२ हजार ५ सय १५ रुपैयाँ हस्तान्तरण गरेको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभएकाे छ।

बाढी पीडितहरूलाई थप राहत सङ्कलन तथा सुरक्षित ठाउँमा स्थानान्तरणको लागि समन्वय भइरहेको प्रजिअ ढकालले बताउनुभएकाे छ।
बर्खाको समयमा कुनैपनि समयमा बिपद आउन सक्ने भन्दै सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभएकाे छ ।
यहीँ असार २० गते राति करिब १ बजेतिर जगदुल्ला गाउँपालिका ५ र ६ मा पर्ने गैरीगाउँ स्थित धुलोखोलामा लेदो सहितको बाढीपहिरो आउँदा एक जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए। घाइते मध्य एक जना ४४ बर्षीय रेउली बि.क.लाई आइतबार नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
विभिन्न निकायका उपस्थितिमा आइतबार बिहान देखि घाइतेको उद्धार गरि बाढीले पुरिएका सामाग्री निकाल्ने काम भइरहेको छ। आइतबार नै जगदुल्ला गाउँपालिकाले मृतका परिवार सहित पुर्णरुपमा क्षति भएका र सामान्य क्षति भएका परिवारलाई राहत वितरण गरेको थियो ।
जगदुल्लाको गैरीगाउँ धुलोखोला बाढीपहिरोमा परि १ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । उक्त बाढी पहिरोले ४ घरमा पूर्णरूपमा क्षति बनाएको छ भने ११ घर आंशिक र २० घरमा सामान्य क्षति बनाएको र परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले विपदमा छिटो छरितो उद्धार तथा राहत कार्यको लागि जिल्ला विपद कमान्ड पोष्ट तयार गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्