तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा डोल्पाबाट बाढीमा परी घाइते महिलाको हवाई उद्धार 

सुर्खेत । नेपाली सेनाले डोल्पाबाट बाढीमा परी गम्भीर घाइते हुनु भएकी एक महिलाको हवाई उद्धार गरेको छ ।  

सेनाले जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते ४४ वर्षीया रेउली विकलाई आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । 

आज बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि विकसहित ६ जना घाइते हुनु भएको थियो । कम्मरभन्दा तलको भागमा गम्भीर चोट लागेर घाइते हुनु भएकी विकलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् अहिले प्रदेश अस्पताल सुर्खेतमा विस्तृत उपचार भइरहेको छ । 

सोही बाढीमा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताउनु भयो । उहाँका अनुसार त्यहाँ प्रभावित घरपरिवारलाई राहत लगायत व्यवस्थापन कार्य भइरहेको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button