पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी हुने
पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय मालेपाटन, पोखराको आयोजनामा भोलि (शनिबार) बोर्डकै परिसरमा राष्ट्रिय कफी प्रदर्शनी गर्ने भएको छ ।

नेपाली कफीको उत्पादन, गुणस्तर, उपभोग तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा शनिबार एक दिने राष्ट्रिय कफी प्रदर्शनी गर्ने भएको बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले बताउनुभयो । नेपाल कफी व्यवसायी महासङ्घ र केन्द्रीय कफी सहकारी सङ्घको सहकार्यमा “चिनौँ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित उक्त कार्यक्रम हुने अन्तिम तयारी पूरा भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका मुख्य आकर्षणमा उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार तथा उपकरण प्रदर्शनी, कफी नर्सरी र बगैँचा अवलोकन, निःशुल्क स्वाद परीक्षण, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी, गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया, विज्ञबाट प्राविधिक परामर्श तथा मनोरञ्जनात्मक गतिविधि हुने भएको निमित्त क्षेत्रीय निर्देशक पुरीले बताउनुभयो ।
नेपाली कफी विश्व बजारमा स्पेसियालिटी कफी का रूपमा स्थापित हुँदै गएको उहाँले बताउनुभयो । नेपाली कफी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेकाले यसको उत्पादन र बजारीकरणमा थप लगानी आवश्यक रहेको पुरीले बताउनुभयो । यसैबिच, कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्