तपाईँ सुन्दै हुनुहुन्छः

६ उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कृत

भक्तपुर । राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरले ६ उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई पुरस्कार वितरण गरेको छ ।

आज कार्यालय परिसरमा आयोजित प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रममा हरेकलाई नगद रु दुई लाख सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने व्यवसायी तथा व्यवसायमा यार्सा टेक प्रा.लि.पोखराकी सविता शर्मा, सात्भिका भान्सा घर कैलालीकी महेश्वरी कुमारी सिंह, ई कागजपत्र प्रा.लि. ललितपुरका निकेश सिंह, सकल बायो इन्जाइम नेपाल ललितपुरकै सरला महर्जन, भर्मिकाउ अर्ग्यानिक कैलालीका आयुश अवस्थी र डियर सर होम ट्युसन प्रा.लि.काठमाडौँका रविकिरण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको बृहत् सम्भावना रहेको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताउनुभयो ।

मल्लले राजनीतिक परिवर्तनपछि अब नागरिकले आर्थिक उपलब्धि खोजिरहेको उल्लेख गर्दै सरकारले त्यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।

परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतले मुलुकको समृद्धिका लागि स्टार्टअप व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आवेदन दिएका मध्येबाट १५ व्यवसायीलाई छनौट गरी कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button