जनताको आकाङ्क्षा पूरा हुनेगरी काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुनेगरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुहुँदै उहाँले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताउनुभयो । संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले कसैको आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्नसमेत निर्देशन दिनुभयो । त्यस्तै जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गर्नुभयो ।
यसअघि २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, मोरङका ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको छ ।
नवनियुक्त महाप्रबन्धक रावलले सरकारले लिएको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताउनुभयो ।
त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुङ्गानाले विगतका वर्षहरूमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएकाले नैतिकता, व्यावसायिकता, सुशासन तथा निरन्तर सुधारलाई प्राथमिकतामा राखेर संस्थाको क्षमता अभिवृद्धि गरिने बताउनुभयो । साथै संस्थाको वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता थप मजबुत बनाइने उहाँको भनाइ थियो । रासस






प्रतिक्रिया राख्नुहोस्