सुस्ता क्षेत्रमा थप सुरक्षा बढाउन र नागरिकता समस्या समाधान गर्न गृहको निर्देशन
नवलपरासी पश्चिम् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयअनुसार निर्देशन जारी गरिएको उल्लेख छ।
पत्रअनुसार सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
यस्तै, नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण सङ्कलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावलीबमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ।
यदि विद्यमान कानुनी व्यवस्थाअनुसार नागरिकता दिन नमिल्ने अवस्था देखिएमा त्यसको आधार र कारण स्पष्ट खुलाएर नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ।
गृह मन्त्रालयको यो निर्देशनसँगै लामो समयदेखि उठ्दै आएको सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता सम्बन्धी समस्या समाधानका लागि प्रशासनिक पहल तीव्र हुने अपेक्षा गरिएको छ।
सुस्ताका विभिन्न समस्या लिएर सुस्ताबासी काठमाडौँमा आन्दोलनरत रहेका थिए । गृह मन्त्रालयमा भएको दुई पक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको सुस्ताका स्थानीय सन्जित शर्माले जानकारी दिए ।






प्रतिक्रिया राख्नुहोस्