ठेकेदारको लापरबाहीले बाजुराको मार्तडी–कोल्टी सडक कालोपत्रे फेरि अलपत्र
बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकको ढम्कने–कोल्टी खण्डमा कालोपत्रे निर्माण फेरि अलपत्र परेको छ। निर्माण कम्पनीको चरम लापरबाहीका कारण चालु आर्थिक वर्षको करिब २० करोड रुपैयाँ बजेट फिर्ता हुने अवस्था सिर्जना भएको छ।

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार निर्माण कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेपछि धरौटीबापत ३ करोड ६ लाख रुपैयाँ बैङ्क ग्यारेन्टीबाट असुल गरिएको छ। साथै १२ करोड रुपैयाँ थप असुलीका लागि नेपाल राष्ट्र बैङ्कमा पत्राचार गरिएको छ।
ढम्कने–कोल्टी सडकको २६ किलोमिटर कालोपत्रे गर्ने जिम्मा पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा २०७७ असारमा लिएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीले यस वर्ष पनि काम सुरु नगरेपछि बजेट फिर्ता हुने अवस्था आएको हो। गत आर्थिक वर्षमा समेत १५ करोड रुपैयाँमध्ये १३ करोड ५० लाखभन्दा बढी बजेट खर्च हुन नसकी फिर्ता गएको थियो। केही महिनाअघि कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रियाअन्तर्गत १५ दिने सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीलाई सम्पर्क गर्न आग्रह गरेको थियो। तर तोकिएको समयभित्र कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। स्थानीय राम बहादुर विकका अनुसार वर्षायाममा सडक निर्माण अधुरै रहँदा मार्तडी–कोल्टी सडक पटक–पटक अवरुद्ध हुने गरेको छ, जसका कारण स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ।
मार्तडी–कोल्टी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ। जसमध्ये ढम्कने–कोल्टी २६ किलोमिटर र मार्तडी–ढम्कने १५ किलोमिटर खण्डमा कालोपत्रे गर्ने योजना रहेको छ। यो आयोजना संघ र प्रदेश सरकारको ५०–५० प्रतिशत समपूरक अनुदानबाट सञ्चालन भइरहेको छ।२०५६ साल फागुन ७ गते शिलान्यास भएको यो सडक २६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासीले विकास निर्माणमा ठेकेदारको लापरबाही र सरकारी निकायको कमजोर अनुगमनमाथि गम्भीर प्रश्न उठाएका छन्।








प्रतिक्रिया राख्नुहोस्